Retotaling पछि ४८ बाट ८३ अंक: त्रिवि परीक्षा प्रणालीमा किन यस्तो लापरवाही ?

काठमाडौंत्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायमा अध्ययनरत एक विद्यार्थीको बीबीएस तेस्रो वर्षको नतिजामा रिटोटलिङपछि ३५ अंकको फरक देखिएपछि त्रिविको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। बीबीएस तेस्रो वर्षको Foundation of Financial System (Finance) विषयमा प्रारम्भिक नतिजामा विद्यार्थीले ४८ अंक प्राप्त गरेकी थिइन्। आफ्नो प्राप्ताङ्कप्रति चित्त नबुझेपछि उनले त्रिभुवन विश्वविद्यालयमा रिटोटलिङका लागि आवेदन दिएकी थिइन्। रिटोटलिङपछि प्रकाशित नतिजामा भने सोही विषयमा उनको प्राप्ताङ्क ८३ अंक कायम भएको छ। यसरी प्रारम्भिक नतिजाको ४८ अंक रिटोटलिङपछिको ८३ अंकबीच ३५ अंकको फरक देखिएको हो।

एउटै परीक्षाको नतिजामा यति ठूलो अंकको अन्तर देखिएपछि विद्यार्थी, अभिभावक तथा सरोकारवालामाझ स्वाभाविक रूपमा प्रश्न उठेको यदि प्रारम्भिक नतिजामै ४८ अंक कायम गरिएको थियो भने रिटोटलिङपछि ८३ अंक कसरी पुग्यो? विद्यार्थीले रिटोटलिङका लागि आवेदन नदिएको भए प्रारम्भिक रूपमा प्रकाशित ४८ अंक नै अन्तिम नतिजाका रूपमा कायम रहन सक्ने अवस्था देखिन्छ। यसले आफ्नो प्राप्ताङ्कप्रति शंका नगर्ने वा रिटोटलिङ प्रक्रियाबारे जानकारी नपाएका विद्यार्थीहरूको नतिजामा समेत यस्ता त्रुटि भएका छन् कि छैनन् भन्ने प्रश्न जन्माएको छ।

यो घटना केवल एक विद्यार्थीको अंक परिवर्तनको विषय मात्र नभई त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, अंक गणना तथा अंक प्रविष्टि प्रक्रियाको विश्वसनीयतासँग जोडिएको विषय हो। परीक्षाको नतिजाले विद्यार्थीको शैक्षिक भविष्य, उच्च शिक्षाको अवसर तथा करियरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रारम्भिक नतिजामै अधिकतम शुद्धता कायम गर्नु विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी हो। यदि कुनै मानवीय वा प्राविधिक त्रुटिका कारण अंकमा यस्तो ठूलो फरक आएको हो भने त्यसको वास्तविक कारण पहिचान गरी आवश्यक सुधार गर्नु आवश्यक देखिन्छ।

रिटोटलिङपछि अंक सच्याइनु सकारात्मक पक्ष भए पनि प्रश्न यत्तिमै समाप्त हुँदैन। त्रुटि कहाँ भयो, कसरी भयो भविष्यमा यस्ता घटना दोहोरिन नदिन त्रिभुवन विश्वविद्यालयले के सुधार गर्दैछ भन्ने विषयमा स्पष्टता आवश्यक छ। विद्यार्थीले आफ्नो अधिकार प्रयोग गर्दै रिटोटलिङका लागि आवेदन दिएपछि मात्र वास्तविक प्राप्ताङ्क सार्वजनिक हुने अवस्था हो भने प्रारम्भिक नतिजा प्रकाशन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।

विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा एउटा अंकको पनि ठूलो महत्व हुन्छ। त्यसैले ४८ बाट ८३ अंक पुग्नु सामान्य अंक परिवर्तनको विषय नभई परीक्षा प्रणालीमा रहेको सम्भावित कमजोरीबारे गम्भीर समीक्षा गर्नुपर्ने विषय हो। अब त्रिभुवन विश्वविद्यालयले यस्तो फरक पर्नुको कारण स्पष्ट गर्दै परीक्षा प्रणालीलाई थप पारदर्शी, विश्वसनीय जवाफदेही बनाउन आवश्यक कदम चाल्छ कि चाल्दैन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

A2Z Online Institute

 

 

SHARE

0 Comments

Leave a Reply